हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय : माधव नेपाल

हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मनपरी ढंगले चल्ने र नेकपा (एकीकृत समाजवादी) लाई बेवास्ता गर्ने कुरा निन्दनिय र आलोच्य भएको टिप्पणी गरे । उनले सबै कुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताए । उनले राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आफूहरु हातेमालो गर्न तयार रहेको बताए ।

उनले भने, ‘मनपरी ढंगले चल्ने र हाम्रो पार्टीलाई बेवास्ता गर्ने, अण्डरमाइण्ड गर्ने यस्तो प्रवृत्ति अत्यन्तै निन्दनिय छ । आलोच्य छ । हामी सबै कुरामा छलफल गरेको चाहन्छौँ । हामीसँग राष्ट्रियताको सवालमा कसैले सहकार्य गर्न चाहनुहुन्छ भने, लोकतन्त्रको सवालमा, परिवर्तनको सवालमा सहकार्य गर्न चाहनुहुन्छ । एकतावद्ध भइ हातेमालो गर्न तयार छौँ ।’

अध्यक्ष नेपालले संविधानमा संशोधन गर्नुपर्ने भए पनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताए । उनले संशोधनको विषयहरु आएपछि आफूहरु छलफल गर्न तयार हुने जानकारी दिए । जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्नेगरी कुनैपनि संशोधन भए स्वीकार्य नहुने उनको भनाइ छ ।

अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाभई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको बताए । उनले सामाजिक सञ्जामा अबदेखि पार्टीकारिुद्ध जथाभावी नलेख्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए ।