रवि लामिछानेलाई सरकारले हत्कडी लगाएर पक्राउ गर्छः काँग्रेस नेता निधि

रवि लामिछानेलाई सरकारले हत्कडी लगाएर पक्राउ गर्छः काँग्रेस नेता निधि


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधिले सहकारी संस्थाको बचत अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरिने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र सभापति लामिछानेलाई समितिको सिफारिसका आधारमा सरकारले कारबाही गर्ने बताए ।

लामिछानेमाथि सहकारी संस्थाको बचत अपचलनसम्बन्धी छानबिन समितिको प्रतिवेदनअनुसार कारबाही अघि बढाइने उनको भनाइ थियो । समितिले सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउन सिधै भूमिका नदेखिए पनि खर्च गर्ने काममा भने लामिछाने संलग्न रहेको प्रतिवेदनमा औंल्याएको थियो ।

निधिले लामिछाने दोषी देखिएकाले सरकारले पक्राउ गरेर कारबाही अघि बढाउने बताए । समितिले दोषी किटान गरेको भए पनि लामिछाने र रास्वपाका केही नेताले ‘क्लिन चिट दिए’ भ्रम फिजाउन खोजेको निधिले बताए ।

रास्वपा नेताहरूले सहकारीको रकम अनियमितता गरी चेक काट्नेलाई हत्कडी लगाउन नहुने तर्क गरेको उनको भनाइ थियो । ‘सहकारीको पैसा मिडियामा ल्याएर चेक काट्नेलाई हत्कडी नलगाएर के घाँस काट्नेलाई हत्कडी लगाउने त ?’, उनले प्रश्न गरे ।

सहकारी छानबिन समितिले गरेको अनुसन्धान र प्रहरीको छानबिनले लामिछानेलाई दोषी ठहर गरेको दाबी निधिको छ । एमाले सांसद सूर्य थापा नेतृत्वमा गठित छानबिन समितिले गत सोमबार प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको थियो ।

संसद बैठकपछि संघीय संसद भवन परिसर नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले कम्पनीको एमडीले चेक नकाटेर के घाँस काट्छ त ? भन्ने प्रश्न गरेका थिए ।