काठमाडौं । सुजन डंगोलको ह्याट्रिकप्रेरित नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित दर्ज गरेको छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको हो ।
एकराज बिकको क्रसलाई हेडमार्फत गोल गर्दै सुजनले नवौं मिनेटमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि सुजनले नै टोलीको अग्रता दोब्बर बनाए । यसपल्ट भने कप्तान सुवास बमले उनलाई सहज बनाइदिए ।
कृष्णबहादुर आलेको थ्रु पासलाई नियन्त्रणमा लिँदै सुजनले ३०औं मिनेटमा ह्याट्रिक पूरा गरे । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा विज्ञान खड्काले गोल गर्दै नेपाललाई ४-० को सहज जित दिलाए ।
समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो । यो जितसँथै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बढाएको छ ।
दुवै खेलमा पराजित श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंका पहिलो खेलमा घरेलु टोलीसँग ५-१ ले पराजित भएको थियो ।
प्रतिक्रिया