स्वघोषित भगवानलाई पनि कानुन लागू हुन्छ : मुख्यमन्त्री पाण्डे

स्वघोषित भगवानलाई पनि कानुन लागू हुन्छ : मुख्यमन्त्री पाण्डे



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशमा सबैले कानूनको पालना गर्नुपर्ने बताएका छन् । सोमबार प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा सहकारी समस्याबारे बोल्दै उनले सबैले कानुन पालना गर्नुपर्ने बताएका हुन् ।

गण्डकी प्रदेशभित्र सहकारीको रकम अनियमितता विकराल भएको भन्दै सरकारले जनतालाई न्याय दिनुपर्ने उनले बताए ।

‘प्रदेशभित्र सहकारीको अनियमितता विकराल छ । व्यक्ति जो सुकै होस्, दोषीलाई कानुनको कारबाहीमा ल्याउनुपर्छ भन्ने कुरामा हामी दृढ छौँ । जनतालाई भ्रम छरेर अझै उम्किने र उम्काउने प्रयास गरिँदैछ । कानुन सबैको लागि बराबर हो,’ उनले भने, ‘एउटा मात्रै पासपोर्ट बोक्नेका लागि, २ वटा पासपोर्ट बोक्नेका लागि, २ वटा नागरिकता बोक्नेका लागि, सहकारीमा भ्रष्टाचार गर्नेका लागि, सहकारीमा ठगी गर्नेका लागि वा अन्य क्षेत्रमा भ्रष्टाचार गर्नेका लागि । जनताका लागि पनि वा स्वघोषित भगवानहरुका लागि पनि कानुन बराबर छ ।’

कानुनको बराबर कार्यान्वयन गर्न प्रदेश सरकार दृढ संकल्पित रहेको उनले सुनाए । ‘जनतालाई पुनः भ्रमित बनाउने खेती सुरु भएको छ । यो तर्फ सिंगो सदन दृढ भएर विपक्षमा उभिनुपर्छ,’ उनले भने ।