समीरको ह्याट्रिकमा नेपालको पहिलो जित

समीरको ह्याट्रिकमा नेपालको पहिलो जित



काठमाडौं । समीर तामाङको ह्याट्रिकसँगै नेपालले एफसी यु-२० एसियन कप छनोटमा पहिलो जित हासिल गरेको छ ।

सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको हो ।

खेलको ३२औं मिनेटमै समीरले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि समीरले नै अग्रता दोब्बर बनाए ।

तर, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा चाइनिज ताइपेइले गोल गर्दै खेल २-१ को स्थितिमा ल्यायो । ८४ मिनेटमा समीरले नै ह्याट्रिक गरेपछि घरेलु टोलीलाई नेपाल स्तब्ध पार्न सफल भएको हो ।

पहिलो खेलमा भने कम्बोडियासँग नेपालले ४-१ को हार बेहोरेको थियो ।

समूह ‘बी’ मा नेपालसँगै उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् ।

सन् २०२५ मा हुने एएफसी २० वर्षमुनिकाे एसियन कप छनोटमा ४५ वटा देश सहभागी छन् । यी टोलीलाई १० वटा समूहमा विभाजन गरिएको छ । १० वटा समूहको विजेता र ५ उत्कृष्ट उपविजेताले २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछन् ।