इजरायली आक्रमणमा लेबनानमा मारिनेको संख्या ५५८ पुग्यो

इजरायली आक्रमणमा लेबनानमा मारिनेको संख्या ५५८ पुग्यो



काठमाडौं । इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा मारिनेको संख्या बढिरहेको छ । लेबनानी अधिकारीहरूले मारिनेको संख्या ५५८ पुगेको जनाएका छन् । अल जजिराका अनुसार मारिनेमध्ये ५० जना बालबालिका रहेका छन् । केही महिला र चिकित्सकहरू पनि मारिएको जनाइएको छ । इजरायली सेनाले सोमबारदेखि लगातार भिषण आक्रमण गरिएको छ ।

२००६ पछि लेबनानमा इजरायलको यो सबैभन्दा घातक दिन हो । इजरायली सेनाले हिजबुल्लाह संगठनलाई लक्षित गरी आक्रमण गरिएको बताउने गरेको छ । उसले सोमबारयता विभिन्न १६०० स्थानमा स्ट्राइक गरिएको जनाएको छ ।

हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट प्रहार गरेको जनाइएको छ । इजरायली सेनाले लेबनानमा आक्रमण गरेकोमा रुसलगायतका मुलुकहरूले आपत्ति जनाएका छन् ।

यसैबीच लेबनानका प्रधानमन्त्री नजीब मिकाती संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने भएका छन् । यसअघि इजरायलले आक्रमण गरेपछि उनले अमेरिका भ्रमण रद्द भएको घोषणा गरेका थिए ।