गोरखा मिडियामा सहकारीबाट आएको रकमको जिम्मेवारी लिन्छु : रवि लामिछाने

गोरखा मिडियामा सहकारीबाट आएको रकमको जिम्मेवारी लिन्छु : रवि लामिछाने



काठमाडौं । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफू गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक भएकाे बेलामा विभिन्न सहकारीबाट सो प्रालिमा आएको रकम अपचलन भएको विषयमा आफूले जिम्मेवारी लिने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लाइभ आएर उनले यस्तो स्वीकारोक्ति गरेका हुन् । उनले यसको नैतिक, कानुनी र आर्थिक जे जेम्मवारी लिनुपर्ने भए पनि जिम्मेवारी लिने बताएका छन् । उनले ठगेर आएको पैसा तैँले किन चलाइस् भन्ने प्रश्न उठेको भन्दै आफूले त्यसको जिम्मेवारी लिने बताएका छन् ।

उनीमाथि सहकारी ठगीबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिले सहकारीबाट आएको रकम अपचलन गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको छ । उनले सहकारीबाट आफूले साेझै रकम नलिएको कुरा संसदीय छानबिन समितिले भनिसकेको बताए ।

सभापति लामिछानेले आफूलाई पक्राउ गर्न सरकारले दसैँ कुरेको जस्ताे महसुस भएकाे बताएका छन् । लामिछानेले मानिसहरू चाडपर्व मनाइरहेका बेला पक्राउ गर्दा विराेध नहुने बुझेर सरकारले दसैँ कुरेको जस्ताे आफूलाई लागिरहेको बताए ।

उनले आफ्नाे समर्थनमा सडकमा आउन कसैलाई आग्रह नगरेको बताए । यद्पि आफूले समर्थकलाई अन्याय भएको कुरा जानकारी गराउन पाउने अधिकार रहेको बताए । उनले मिडियाले आफूलाई अनावश्यक रूपमा खेदिरहेको गुनासो गरेका छन् ।

उनले सहकारी ठगी प्रकरणमा आफू निर्दाेष रहेको जिकिर पनि गरेका छन् । छलछामबाट सरकारले आफूलाई लडाउन खाेजे कानुनी उपचार खाेज्ने बताए ।