स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान


ग्लोब नेपाल
81
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज(बुधबार) एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई बिहीबारदेखि दर्ताका लागि भनेको हो ।

आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पदहरू खाली रहेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन हुनेमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा ४० पद रहेका छन् ।

स्थानीय तहमा एक वर्षको पदावधि छँदै कुनै पद रिक्त रहेमा उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ ।