सुशासन र विकासको पक्षमा तीव्र गतिले काम अघि बढेकाे छ : मुख्यमन्त्री सिंह

सुशासन र विकासको पक्षमा तीव्र गतिले काम अघि बढेकाे छ : मुख्यमन्त्री सिंह

मधेश प्रदेश सरकारकाे १०० दिनको उपलब्धि सार्वजनिक



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले सुशासन र विकासको पक्षमा तीव्र गतिले काम अघि बढाएको बताएका छन् ।

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार मधेश प्रदेश सरकारको एकसय दिनको अवधिमा भएका कामको सार्वजनिकीकरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रदेशको आर्थिक, सामाजिक, खेलकुद, शिक्षा, कृषि, स्वास्थ्य र श्रम बजार जस्ता क्षेत्रमा सुधार भएको दाबी गरेका छन् ।

उनले गत ज्येष्ठ २५ गते आफूले मुख्यमन्त्रीको पदभार ग्रहण गरेपश्चात् समाजिक रुपान्तरणका लागि केही नीतिगत प्रतिबद्धता र सङ्कल्पसहितको कार्ययोजना साझा गरेअनुसार सरकार सञ्चालनको प्रारम्भिक र सर्वसम्मत खाका, गति र कार्यशैली सुनिश्चित गरी न्यूनतम सोच तथा अक्षय निष्ठाका साथ अघि बढिरहेको बताए ।

यातायात क्षेत्रमा सुधार, सवारीचालक अनुमतिपत्र समस्याहरू समाधान गरेको, सवारी साधन अभिलेखको डिजिटलाइजेसनले सेवा छरितो र प्रभावकारी भएको पनि मधेश सरकारले आफ्नो उपलब्धिमा उल्लेख गरेको छ ।

कमला नदीको बाढीका कारण बगर बनेका १५ हजार बिघा जमिनलाई कृषिमा उपयोग गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी भइरहेको मुख्यमन्त्री सिंहले बताए ।

१ लाख ५० हजार मेट्रिक टन रासायनिक मलको समयमै वितरण गरिएको, भेटेरीनरी सेवा र मत्स्य उत्पादनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याइपछि ५० हजारभन्दा बढी किसान लाभान्वित भएको उनको भनाइ छ ।

जनकपुरधाममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर, खेलाडी र प्रशिक्षकहरूको प्रोफाइल तयार पार्दै खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउने योजना अघि सारिएको दाबी गरिएको छ ।