प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिपूर्ण : महासचिव पोखरेल

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिपूर्ण : महासचिव पोखरेल

संविधान कार्यान्वयनको एक दशकमा कमजोर पक्षमा संशोधन गर्नुपर्छ



धनगढी । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भइरहेको बताएका छन् । भ्रमणका क्रममा त्यहाँ कुनै खालको विरोध, नाराजुलुस नभएकाले भ्रमपूर्ण प्रचारका पछाडि नलाग्न आग्रह गरे ।

धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्रीको कार्यतालिका निक्कै व्यस्त रहेको बताए । व्यस्तताका कारण एउटा कार्यक्रम स्थगित भएको उनको भनाइ छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि संयुक्त राष्ट्रसङ्घको महासभामा व्यस्त रहेको उनले बताए ।

‘सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग गरी अनेक हल्ला चलाइएका छन्, यसले वैकल्पिक शक्ति बन्छौ भन्नेहरूको नियत प्रस्ट भएको छ’ महासचिव पोखरेलले भने ।

संविधान संशोधनका सवालमा बोल्दै उनले अहिले संविधान कार्यान्वयनको एक दशकमा सबल पक्ष खोज्ने र कमजोर पक्षमा संशोधन गर्नुपर्ने बताए । महासचिव पोखरेलले विकास र स्थायित्वका लागि एकल बहुमतको सरकार आवश्यक रहेको बताए ।

उनले छिमेकी भारत र चीनको विकास हुनुमा क्रमशः प्रधानमन्त्री नरेन्द्र मोदी र सी जिनफिङको लगातार तीन पटकको नेतृत्व पनि मुख्य कारण भएकाे बताए । त्यसैकारण ठुला दल एमाले र कांग्रेसले स्थायित्व दिन मिलेर सरकार बनाएको बताउँदै उनले आगामी चुनावमा जसले भए पनि एकल बहुमतको सरकार हुन जरुरी रहेको बताए ।

“कांग्रेस र एमाले दुई वटै दलले कसैसँग चुनावी तालमेल नगरीकन एक्ला एक्लै चुनाव लड्ने भनिसकेका छौँ” महासचिव पोखरेलले भने, “एमालेले एकल बहुमत ल्याउने गरेर काम गरिरहेको छ, एकल बहुमत पाउँछौ ।”

महासचिव पोखरेलले पूर्व उपाध्यक्ष भीमबहादुर रावल जिम्मेवारीबाट आफै बाहिरिएकाे, पार्टीका नीति नियमविपरित स्वतन्त्ररुपमा हिँडिरहेकाले उनका बारेमा कुनै टिप्पणी गर्न आवश्यक नभएको बताए ।