अलराउन्डर वरियतामा सन्दीपको छलाङ

अलराउन्डर वरियतामा सन्दीपको छलाङ

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान तल खस्कियाे



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औं स्थानमा उक्लिएका हुन् ।

अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औं, कुशल मल्ल ५१औं, सोमपाल कामी ५३औं, करण केसी ७६औं, गुलशन झा ९०औं र ललित राजवंशी ९४औं स्थानमा छन् ।

दीपेन्द्र र कुशल ६ स्थान तल झरेका हुन् । यस्तै करणले ११, गुलशनले १३ र ललितले एक स्थान सुधार गरेका छन् । सोमपाल यथा स्थानमा छन् । वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नवी छन् ।

यस्तै ब्याटिङतर्फ आसिफ शेख ७९औं, कुशल भुर्तेले ८०औं र रोहितकुमार पौडेल ८७औं स्थानमा छन् । रोहितको वरियता यथावत रहेको छ भनेआसिफ ११ र कुशल चार स्थान तल झरेका छन् । ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्षस्थानमा छन् ।

बलिङतर्फ सन्दीप लामिछाने ४८औं, ललित राजवंशी ५२औं, दीपेन्द्रसिंह ऐरी ६४औं, करण केसी ८७औं र सोमपाल कामी ८८औं स्थानमा छन् । बलिङमा सन्दीपको वरियता यथावत छ भने ललित दुई, दीपेन्द्र एक र सोमपाल १३ स्थान तल झरेका छन् । करणले चार स्थान सुधार गरेका छन् ।

बलिङ वरियताको शीर्षस्थानमा दक्षिण अफ्रिकाका केशव महाराज छन् । एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान तल खस्किएको छ । यसअघि १६औं स्थानमा रहेको नेपाल १७औं स्थानमा पुगेको हो ।

त्यस्तै पछिल्ला खेलहरुमा जित हासिल गरेको क्यानडाले भने चार स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिका एक स्थान उक्लिएर नेपाल भन्दा अगाडी १६औं स्थानमा रहेको छ । त्यस्तै खराब प्रदर्शन गरिरहेको नामिबिया तीन स्थान तल झरेर १८औं स्थानमा पुगेको छ भने ओमान एक स्थान तल झरेर १९औं स्थानमा पुगेको छ ।

त्यस्तै एकदिवसीय क्रिकेटको शिर्ष स्थानमा भारत रहेको छ भने दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ ।