पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश

पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश



काठमाडौं । १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश भएको छ । आदेश के भयो भन्ने भोलि (बिहीबार)मात्र सार्वजनिक हुने सर्वोच्च अदालतले जनाएको छ ।

निर्णय सुनाउने मिति पटक पटक सारेको सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको हो ।

१२ वैशाख, २०८१ मा पछिल्लो पटक सुनुवाइ गरी डेढ महिनापछि निर्णय सुनाउने मिति तोकेको संवैधानिक इजलासले पटकपटक मिति सारेको थियो । निर्णय सुनाउने मिति दुई पटक सारेर १२ भदौमा अन्तिमपटक मिति तोकिएको थियो । त्यसपछि ९ असोजका लागि मिति तोकिएको हो ।

सबै प्रक्रिया पूरा भएर फैसलाको लागि परिपक्व भएको मुद्दामा मात्रै निरन्तर सुनुवाइ गरेर निर्णय सुनाउने मिति तोक्ने गरिन्छ । त्यस्तो मुद्दा फैसला गर्नुपर्नेमा अवकाशको नजिक पुगेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको इजलासले मुद्दा टुंग्याउन रुची नदेखाएको हो ।

काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पतिको हत्यामा संलग्न माओवादी नेता सापकोटा विरुद्धको अनुसन्धान अघि बढाउनुपर्ने माग राखी ८ मंसिर, २०६९ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

१२ वर्षको अवधिमा उनको मुद्दा हेरेका आठ जना न्यायाधीश प्रधानन्यायाधीश भइसकेका छन् । सुनुवाइ भएर पनि पटकपटक सरेको मुद्दाको फैसला प्रधानन्यायाधीश श्रेष्ठ अवकाश हुने बेलामा अनिश्चित बनेको हो ।

रिट निवेदनमा उल्लेख भएको विवरण अनुसार, पूर्णिमाया लामाका पति अर्जुन लामा काभे्रको श्रीकृष्ण माविबाट १६ वैशाख २०६२ मा अपहरणमा परेका थिए । असारको दोस्रो सातातिर तत्कालीन बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा उनको हत्या भयो । गाडेको अवस्थामा पछि शव फेला परेको थियो ।