सहकारी ठगी आरोपमा ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ

सहकारी ठगी आरोपमा ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ



काठमाडौं । सहकारीको बचत ठगी आरोप लागेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । उनी शुक्रबार भारतमा पक्राउ परेका हुन् ।

इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकारीले अनुसार भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालिएकाे छ ।

नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो ।

सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।

बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो ।

इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । बागलुङमा मात्र २ अर्बभन्दाब बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर मेयर नेपालीलाई प्रकाउ गरी कारबाहीको माग गर्दै आएका छन् ।

श्रीमतीसहित फरार रहेका मेयर नेपालीले ५ मंसिर ०८० मा फेसबुकमा भिडियो सन्देश तथा विज्ञप्तिमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको सार्वजनिक गरेका थिए ।

फेसबुकमार्फत फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्बभन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका थिए ।