राष्ट्रिय एआई नीतिको तयारी भइरहेको छ : सञ्चारमन्त्री गुरुङ

राष्ट्रिय एआई नीतिको तयारी भइरहेको छ : सञ्चारमन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एआई नीति तयारीको काम भइरहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपालमा एआईको उपयोगमा विकास र प्रवर्द्धन गर्न एवं सो को प्रयोगमा गोपनीयता, पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति तर्जुमाको कार्य भइरहेको छ ।’

नेपाल डिजिटल प्रेमवर्कलाई प्रभावकारी बनाउने काम भइरहेको भन्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० निर्माण , साइबर सुरक्षाको विषयमा अनुगमन, अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धिसम्बन्धी अवधारणापत्र , प्रविधि र प्रणालीको सुरक्षित र जवाफदेही प्रयोग एवं डिजिटलाइजको सिस्टम निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक निर्माण सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनःसंरचना सम्पन्न गर्ने काम भइरहेको छ ।’

सञ्चारमन्त्री गुरुङले सरकारले सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा अगाडि बढाउने घोषणा गरेको र त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको बताए ।