इजरायलले लेबनानमा स्थलगत आक्रमण शुरू गर्‍याे

इजरायलले लेबनानमा स्थलगत आक्रमण शुरू गर्‍याे



काठमाडौं । इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू गरेको छ । यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा क्षेत्रतर्फ अघि बढेका बीबीसीले जनाएको छ ।

यसअघि इजरायलले लेबनानको राजधानी बेरुतसहितका ठाउँमा हवाई आक्रमण गर्दै आएको थियो । इजरायलले गरेको हवाई आक्रमणमा हिजबुल्लाह समूहका प्रमुखसहित ७ सयभन्दा धेरै मानिस मारिएका छन् । आईडीएफले ७० हजारदेखि १ लाख सैनिक लेबनानको दक्षिणी सीमामा परिचालन गर्दैछ ।

इजरायली सेनाले सीमा क्षेत्रमा हिजबुल्लाहले बनाएका रकेट लञ्चर तथा अन्य भौतिक संरचना ध्वस्त पार्ने तयारी गरेको खबरमा उल्लेख छ । इजरायली सेनाले हिजबुल्हाका झन्डै ७० प्रतिशत यस्ता संरचना ध्वस्त पारिसकेको जनाएको छ ।

यसैबीच अमेरिकाले इजरायलको आत्मरक्षाको अधिकारको समर्थन गर्ने बताएको छ । यसअघि अमेरिकाले लेबनानमाथि आक्रमण शुरू गरेको इजरायललाई युद्धविरामका लागि आह्वान गरेको थियो । तर इजरायल भने युद्धविरामको कुनै पनि प्रस्ताव स्वीकार नगरी हिजबुल्लाहविरुद्ध आक्रमण गरिरहने पक्षमा छ ।