अलपत्र यात्रुलाई तत्काल उद्धार गरी गन्तव्यमा पुर्‍याउन राज्य व्यवस्था समितिको निर्देशन

अलपत्र यात्रुलाई तत्काल उद्धार गरी गन्तव्यमा पुर्‍याउन राज्य व्यवस्था समितिको निर्देशन



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ ।

संसदीय समितिले गत असोज ११ र १२ गतेको भारी वर्षापछि बाढीपहिरो र डुबानका कारण विभिन्न राजमार्गहरूमा अलपत्र परेका यात्रुहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको हो ।

मंगलबार बसेको बैठकले थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले राहत र पुनर्स्थापनाका काम तदारुकताका साथ अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

यसैगरी, हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्नका लागि क्षतिग्रस्त सडकहरूको मर्मत सम्भार गर्न पनि समितिले भनेको छ । यस्तै सडकको पहुँच नपुगेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्थापन गर्न तथा खाद्यान्न, तरकारी, फलफूल आदि सम्पूर्णको मूल्य बढ्न नदिन समितिको निर्देशन रहेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।