यति ठूलो विपदका लागि पूर्वतयारी थिएन : प्रधानमन्त्री ओली

यति ठूलो विपदका लागि पूर्वतयारी थिएन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यति भयावह बाढी पहिरो आउला भन्ने पूर्वामानुमान नभएको बताएका छन् । असोज ११ र १२ गते भएको भारी वर्षासँगै आएको बाढी पहिरो र डुबानले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारले पूर्व तयारी गरेको छ ।

उनले भने, ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन । यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन । पहिला यस प्रकारभन्दा कमै हुने गर्थै, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो ।’

विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो गरेको प्रधानमन्त्री ओलीले बताए । ‘केही गर्दै नगरेको होइन । सक्दो गरेको छ’, उनले अगाडि भने, ‘केही कमजोरी भएको हुनसक्छ । भएको छ भने आगामी दिनमा सच्याउनुपर्छ ।’

उनले यो बेला सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माणका काम गर्नेमा लाग्ने बताए । ‘यस्ता कुरामा हामी नेपाली एक हुनुपर्छ र साझा विपत्तिको सामना गर्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘विपत्तिले राजनीतिक रङ, पेसा व्यवसाय छुट्टाएर मर्का पारेको हुँदैन । कमीकमजोरी कहीँ छन् देखाउन सकिन्छ तर केही राम्रा कामपनि सरकारले गरेको होला ।’

उनले सरकारको सचेतताकै कारण चार हजारभन्दा बढी मानिसलाई उद्धार गरेको भन्दै सरकारले नगरेको भए उनीहरू बाच्न गाह्रो हुने बताए । ‘यो कुरा पनि हामीले देख्नुपर्छ । केही गर्दै नगरेको होइन सक्दो गरेको छ । यद्यपि आगामी दिनमा कमी कमजोरी हुन दिनुहुँदैन’, प्रधानमन्त्रीको भनाइ छ । उनले संरचनागत त्रुटिका कारण पनि क्षति बढी हुनपुगेको भन्दै आगामी दिनमा त्यसबारे सबैले सोच्नुपर्ने बताए ।

उनले राजमार्गहरू निर्माणका क्रममा कतिपय ठाउँमा ढिलासुस्ती भएको हुनसक्ने भन्दै अहिले आएर ढिला भएको भन्न नमिल्ने बताए । प्रधानमन्त्री ओलीले यस दुःखबाट उम्केपछि पनि बिर्सन नमिल्ने भन्दै विपदका बेला शेयर मार्केट डाउन हुनु स्वाभाविक भएको बताए ।