लेबनानी भूमिमा इजरायली सेनाको प्रवेश, स्थल र हवाई दुवै आक्रमणमा तीव्रता

लेबनानी भूमिमा इजरायली सेनाको प्रवेश, स्थल र हवाई दुवै आक्रमणमा तीव्रता



काठमाडौं । इजरायली सेनाले लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण शुरू गरेको छ । यसअघि हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा गएरातिदेखि नै भूमिगत ‘अपरेशन’ शुरू गरेको आईडीएफले जनाएको छ । तर हिजबुल्लाहले भने इजरायली सेना आफ्नो भूमिमा नआएका र आउने प्रयास गरेमा प्रत्यक्ष युद्धका लागि तयार रहेको बताएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

आईडीएफले तालिमप्राप्त सैनिकहरूलाई आक्रमणका लागि स्थलमार्गबाट लेबनानी भूमिका खटाएको जनाएको छ । स्थल सेनालाई इजरायली वायुसेनाले सहयोग गरिरहेको छ । इजरायलले गरिरहेको हवाई आक्रमणमा पछिल्लो एक हप्तामै एक हजार जनाभन्दा धेरै नागरिक मारिएका र दश लाख जनाभन्दा धेरै मानिस विस्थापित भएका लेबनानी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हिजबुल्लाहका सहायक प्रमुख शेख नाइम कसिमले इजरायलले अहिलेसम्म गरेका आक्रमणहरू निकै कम भएको भन्दै युद्ध धेरै लामो हुन सक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

समाचार संस्था एपीका अनुसार सन् २००६ पछि इजरायली सेना लेबनानमा प्रवेश गरेको यो पहिलो पटक हो । सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म युद्ध भएको थियो ।