यथाशीघ्र उद्धार कार्यसम्पन्न गर्न सरकारसँग कांग्रेसको माग

यथाशीघ्र उद्धार कार्यसम्पन्न गर्न सरकारसँग कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरोका कारण बिच बाटोमा अलपत्र परेका यात्रुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको छ ।कांग्रेस संसदीय दलको आज बसेको बैठकले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

उनले कैयौँ नागरिक अझै पनि देशका विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेका र गन्तव्यका लागि हिँडेका यात्रु बिच बाटोमा अलपत्र परेका समाचार आइरहेकाले उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न माग गरिएको बताए ।

बैठकका निर्णयबारे प्रमुख सचेतक घिमिरेले भने, “प्राकृतिक प्रकोपले कैयौँ ठुलासाना सडक अवरुद्ध भएका छन्, कैयौँ पुल भत्किएका छन्। यसले आवागमनमा असर परेको छ । चाडपर्वमा घर जान चाहने नागरिकको चाप बढ्दै छ। त्यसैले अवरुद्ध सडकको मर्मतसम्भार कार्य तीव्र गतिमा अघि बढाउनुका साथै अस्थायी रूपमा वैकल्पिक मार्गको व्यवस्था गरेर भए पनि दसैँमा घर जानसक्ने अवस्था निर्माण गर्नका लागि बैठक सरकारसँग अनुरोध गर्दछ ।”

साथै बैठकले खानेपानी, स्वास्थ्य संस्था, विद्यालय एवं प्रहरी चौकीजस्ता क्षतिग्रस्त अत्यावश्यक संरचना तत्काल पुनः निर्माणका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

कांग्रेसले सडकमार्ग खराब अवस्थामा रहेका कारण हवाईमार्गमा पर्न जाने चापलाई मध्यनजर गरी न्यूनतम हवाई भाडादर कायम राख्न र आवश्यक सहुलियत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

“साथै बैठकले सडक यातायातको भाडादर पनि वृद्धि नगर्न र चाडपर्वका समयमा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धिप्रति सरकारलाई सचेत गराउँदै आपूर्ति व्यवस्थालाई सुव्यवस्थित गर्न सरकारसँग माग गरेको छ”, प्रमुख सचेतक घिमिरेले भने, “कांग्रेस संसदीय दल कार्यसमितिको यही असोज १३ गते बसेको बैठकले गरेको राहत व्यवस्थापन गर्न कांग्रेस सङ्घीय संसद्का सबै सांसदहरूको १५ दिनको पारिश्रमिक कट्टागरी सरकारलाई प्रदान गर्ने निर्णय पनि आज अनुमोदन गरेको छ ।”

बैठकले बाढीपहिरोका कारण भएको अन्नबालीको क्षतिअनुसार राहत उपलब्ध गराउन एवं कटान भएका स्थानमा नदी नियन्त्रण कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।

यस्तै, इजरायल–लेबनानबिच सुरु भएको युद्धबाट लेबनानमा रहेका नेपाली पनि जोखिममा रहेका हुँदा उनीहरूको सुरक्षा र इच्छुकहरूलाई सकुशल स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यही असोज १२ र १३ गतेको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ। साथै बैठकले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता रहेका नागरिकहरूको खोजीमा तीव्र ढङ्गले हरसम्भव प्रयास गर्न सरकारसँग माग गरेको छ ।