हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं र हेटाैँडा–पालुङ–नौबिसे सडकमा गाडी चल्न थाले

हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं र हेटाैँडा–पालुङ–नौबिसे सडकमा गाडी चल्न थाले



काठमाडौं । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं खण्डमा आज बिहानदेखि गाडी चल्न थालेका छन् ।

यसअघि जल तथा मौसम विज्ञान विभागले ठूलो वर्षा हुनसक्ने सूचना निकालेपछि आज बिहानसम्म स्थानीय प्रशासनले यो सडकमा गाडी चलाउन रोक लगाएको थियो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि गाडी चल्न चालेका हुन् । हेटौँडा–पालुङ–नौबिसे सडक खण्डमा हलुका गाडी सञ्चालन भएका हुन् ।

यसैबीच बाढी पहिराेका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

हेटौँडा–काठमाडौं जोड्ने सडकअन्तर्गत हेटौँडा–भैँसे–रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चार वटा मेशिन प्रयोग गरेर काम भइरहेको छ । सडक विभाग र सुरक्षाकर्मीको टोलीले भीमफेदी गाउँपालिका–६ देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ मा बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उहाँले जानकारी दिए ।

दक्षिणकाली–फर्पिङ सडकअन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्म र पाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुई वटा मेशिन चलाइएको छ ।