गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात



पेरिस । हमास लडाकूहरूले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लगेका थिए । तीमध्ये केही पहिले नै मृतावस्थामा थिए ।

आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ६४ जना अझै बन्धक छन् । इजरायलले उनीहरू जीवित रहेको विश्वास गरेको छ ।

गाजा पट्टीमा शासन गर्ने प्यालेस्टिनी लडाकू समूहका लागि बन्धकहरू इजरायलसँग युद्धविराम वार्ता गर्न र इजरायली जेलहरूमा थुनिएका प्यालेस्टिनी कैदीहरूको रिहाइ गर्न महत्त्वपूर्ण मोलमोलाइको माध्यम हुन् ।

५२ पुरुष, १० महिला, दुई बालबालिका

सन् २०२३ अक्टोबर ७ मा हमास लडाकूहरूले कब्जामा लिएका दुई सय ५१ बन्धकमध्ये एक सय १७ जना मुक्त भएका छन् र तिनीहरूमा अधिकांश महिला, बालबालिका र विदेशी कामदार छन् ।

इजरायली जेलहरूमा थुनिएका दुई सय ४० कैदीको बदलामा अधिकांश बन्धकलाई नोभेम्बरको अन्त्यतिर एक साताको युद्धविरामको समयमा रिहा गरिएको थियो ।

करिब एक वर्षपछि गाजामा अहिले पनि बन्धक बनाइएका ६४ जना जीवित रहेको इजरायलको विश्वास छ । सेनाले मृत भएका पुष्टि गरेका ७० मध्ये ३३ को शव अझै गाजामा छ ।

गाजामा मृत्यु भएका वा अक्टोबर ७ मा मारिएर त्यस क्षेत्रमा लगिएका ३७ बन्धकको शव सेनाले स्वदेश फर्काएको छ ।

जीवित रहेको विश्वास गरिएका ६४ मध्ये ५७ जना इजरायली हुन् । यद्यपि तीमध्ये केहीसँग एउटाभन्दा बढी राष्ट्रियता छ । अन्य छ जना थाई नागरिक र एक जना नेपाली छन् ।

बाउन्न जना पुरुष र १० महिला छन् । त्यस्तै, ११ जना सैन्य कर्मचारी छन् भने दुई जना बालबालिका छन् । सबैभन्दा कम उमेरको बन्धक कफिर अपहरणमा पर्दा आठ महिना १५ दिनको थिए । उनका दाजु एरियल गाजामा लैजाँदा जम्मा चार वर्षका थिए ।

हमासले यी दुई बालबालिका मरेको बताएको छ तर इजरायलले यसको पुष्टि गरेको छैन ।

जीवित रहेको कुनै प्रमाण छैन

डिसेम्बर १ मा युद्धविराम समाप्त भएयता इजरायली सैन्य कारबाहीका क्रममा अन्य सात बन्धक मात्र जीवितै मुक्त भएका छन् । जीवित रहेको कुनै प्रमाण नभएकाले ६४ जना अझै जीवित छन् कि छैनन् भन्नेबारेमा अनिश्चितता कायम छ ।

आफ्ना लडाकूहरूले एक इजरायली बन्धकलाई गोली हानी मारेको र अन्य दुईलाई घाइते बनाएको हमासको सशस्त्र शाखाले अगस्ट १२ मा बताएको थियो ।

हमासले धेरै पटक बन्धकहरूको मृत्यु भएको घोषणा गरे पनि इजरायलले त्यसको पुष्टि गरेको छैन । यसबाट परिवारहरू पीडामा छन् ।

शवहरू गाजा लगियो

अक्टोबर ७ मा हमासका लडाकूहरूले इजरायली सैनिकहरूको १० शवसहित केही मृतकलाई गाजामा आफूसँगै लगे ।

युद्ध सुरु भएयता कम्तीमा २८ अन्य बन्धकको गाजामा मृत्यु भएको छ । सन् २०२३ डिसेम्बर १५ मा तीन जनालाई इजरायली सेनाले गल्तीले मारेको थियो । उनीहरू २८ वर्षीय योताम हाइस तथा २६ वर्षका सामेर अल–तलाल्का र एलोन शाम्रिज थिए ।

इजरायली सेनाले हमासमाथि हर्श गोल्डबर्ग–पोलिन, कार्मेल गाट, इडेन जेरुसेलमी, अलेक्जेन्डर लोबोनोभ, अल्मोग सारुसी र ओरी दानिनो गरी छ जनाको हत्या गरेको आरोप लगाएको छ । उनीहरूलाई सैनिकहरूले दक्षिणी गाजाको रफाहमा एउटा सुरुङमा फेला पारेका थिए ।

महोत्सव, किबुत्जका जीवितहरू

अधिकांश बन्धकहरूलाई निर ओज किबुत्ज र नोभा सङ्गीत महोत्सवमा भएको आक्रमणका क्रममा लगिएको थियो ।

अक्टोबर ७ मा निर ओज किबुत्जमा अपहरणमा परेका कम्तीमा ७६ बन्धकमध्ये ४० जना जीवितै रिहा भएका छन् । अरु २० जना अझै गाजामा छन् र जीवित रहेको विश्वास गरिएको छ । बाँकी १६ जनाको मृत्यु भइसकेको छ ।

महोत्सवबाट अपहृत १७ जना मात्र जीवित रहेको र अझै गाजामा बन्धक रहेको विश्वास गरिन्छ । नोभाबाट अपहरणमा परेका कम्तीमा ४३ बन्धकमध्ये नौ जना मात्र रिहा भएका छन् भने अन्य १७ जनाको मृत्यु भएको छ ।

सम्पूर्ण परिवार

अक्टोबर ७ मा सम्पूर्ण परिवारलाई गाजामा लगिएको थियो । उनीहरूका लागि सन् २०२३ नोभेम्बरको युद्धविरामले राहत दिए पनि प्रियजनहरूलाई पछाडि छाड्नुपर्दाको पीडा पनि दियो ।

फ्रान्सेली–इजरायली बालबालिकाहरू इतान, इरेज र सहर मुक्त भए पनि उनीहरूका बुबा ओहाद याहालोमी र ओफेर काल्डेरोन अझै बन्धक छन् ।