परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसीडी)को तेस्रो सम्मेलनमा भाग लिई शुक्रबार अपराह्न स्वदेश फर्किएकी हुन् ।

क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन् । आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताइन् ।

उनले भनिन्, “कतारमा एसिएन कोअपरेटिभ डाइलग थियो । त्यसमा दुईवटा इस्यु थियो–एउटा एआईकै इस्यु थियो । त्यसमा अन्तर्राष्ट्रिय जगतले नै चासो देखायो । यी कुराहरूलाई हामीले राख्यौँ त्यहाँ । बल्ड पिस, एसियामा भइरहेको लडाइँका विषयमा पनि कुरा भयो । त्यहाँ स्पोर्टस् डेभ्लोमेसीको कुरा पनि थियो । त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर र्‍याफ्टिङको एकदमै सम्भावना छ । हामी त्यसमा लिडरसिप लिनसक्छौँ भन्ने कुरा राखेर आएको छु । एउटा मलाई एकदमै राम्रो के लाग्यो भने जुनै देशमा जाँदा पनि नेपालीलाई राम्रो भनेको पाइयो । नेपालको इमेज बढाउन, नेपालमा इन्भेष्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ ।”