कांग्रेस–एमालेले रविको कार्यक्रम बिथोल्न खोजेको रास्वपाको आरोप

कांग्रेस–एमालेले रविको कार्यक्रम बिथोल्न खोजेको रास्वपाको आरोप


ग्लोब नेपाल
189
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट’ कार्यक्रम विथोल्न खोजिएको रास्वपाले आरोप लगाएको छ । कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको रास्वपाको दाबी छ । रास्वपाले सहकारी पीडितका नाममा कांग्रेस र एमालेले रविमाथि निरन्तर अवरोध सिर्जना गरिरहेको आरोप लगाएको छ ।

सभापति लामिछानेको सचिवालयले भनेको छ, ‘कार्यक्रम सुरु हुनै लाग्दा एक हुल कला मन्दिरमा जबरजस्ती प्रवेश गर्न खोज्दै ढुंगा प्रहार गरेका थिए । वास्तवमा तिनीहरु सहकारी पीडित नै होइनन् ।

कांग्रेस र एमालेका कार्यकर्ताको ढुंगा लागेर सफल गुप्ता र अमित गुप्ता घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ढुंगा प्रहार गर्नेमध्ये कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारी पक्राउ नै परेका छन् । यसबाट पनि उनीहरु सहकारी पीडितको नाममा विथोल्न खोज्दैछन् भन्ने पुष्टि हुन्छ’ लामिछानेको सचिवालयले भनेको छ ।

यसअघि शुक्रबार मुग्लिङ बजारमा पनि सहकारी पीडित संघर्ष समितिको ब्यानरमा केही व्यक्तिले विरोध गरेपछि रास्वपा समर्थक र उनीहरुबीच झडप समेत भएको थियो ।