शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच साेमबार राष्ट्रपति भवन, शीतलनिवासमा भेटवार्ता भएको छ । भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको छ ।

भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सिर्जना गर्न सुझाव दिए । राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याको समाधान खोज्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

गाउँगाउँमा आधारभूत सुविधा पुगेर बस्ने अवस्था सिर्जना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको हुनाले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनले आवश्यकता औँल्याए । राष्ट्रपति पौडेलले हालै आएको बाढीपहिरोबाट प्रभावितहरूको राहत तथा पुननिर्माणका कामलाई तीव्रता दिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

भेटमा प्रधानमन्त्री ओलीले अहिलेको देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले दुइवटा ठूला दल मिलेर वनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि उल्लेख गरे ।

सो क्रममा प्रधानन्त्री ओलीले संयुक्त राष्ट्र संघ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेलेलाई जानकारी गराए ।