१७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि

१७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि



काठमाडौं । देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै आठ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १७ हजार ६०२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ईडिसिडीको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले कास्की, काठमाडौंं, तनहुँमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ ।

दाहालका अनुसार कास्कीमा दुई हजार ७०९, काठमाडौंमा दुई हजार ५६७, तनहुँमा एक हजार ९५४, पर्वतमा एक हजार ४२१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी, चितवनमा ९०७, गोरखामा ६२०, ललितपुरमा ६४६, बागलुङमा ५८९, भक्तपुरमा ३०८, स्याङ्जामा २९६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिए ।

प्रदेश अन्तर्गत गण्डकी, बागमती,लुम्बिनी र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा आठ हजार ६२, बागमती प्रदेशमा पाँच हजार ५७१, कोशी प्रदेशमा एक हजार ४२२ जनामा डेंगु पुष्टि भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा एक हजार १३५, कर्णाली प्रदेशमा २५१, मधेश प्रदेशमा ३४३ र सुदूरपश्चिम प्रदेशमा ८१८ जनामा डेंगु पुष्टि भएको छ ।