आरोहणका लागि थप ५७ हिमाल खुला गर्ने सरकारको निर्णय

आरोहणका लागि थप ५७ हिमाल खुला गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आगामी सिजनमा थप ५७ वटा हिमाल आरोहणका लागि खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरुलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

उनकाअनुसार पाँच हजार ८०० मिटर उचाइमाथिका थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरिएको हो । पर्यटन विभागले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ वटा चुचुरो आरोहणका लागि खुला गर्न सरकारलाई सिफारिस गरेको थियो । पर्यटन विभागलेआर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा समावेश कार्यक्रममा नेपाल–भारत तथा नेपाल–चीनसँग सिमाना जोडिएकासहित ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने उल्लेख गरेको थियो ।

खुला गर्न लागिएका ५७ हिमालमध्ये ४६ वटा हिमाल चीनसँग, दुई हिमाल भारतसँग सिमाना जोडिएका र नौ वटा हिमाल सीमाभित्रका छन् । आरोहणका लागि खुला गर्न लागिएका हिमालहरू पाँच हजार ८०७ देखि छ हजार ८६८ मिटर उचाइसम्मका रहेका छन् । हाल सरकारले आरोहणका लागि ४०१ वटा हिमाल आरोहणका लागि खुला गरे पनि सबैमा आरोहण हुन सकेको छैन ।

हाल पर्यटन विभाग र पर्वतारोहण सङ्घले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिँदै आएका छन् । सरकारले सङ्घलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ । यसमा पनि छ हजार पाँच सयभन्दा कम उचाइ भएका हिमाल पर्दछन् । बाँकी हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागबाट हुँदै आएको छ ।

त्यसैगरी मन्त्री गुरुङले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि रायसहितको प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

त्यस्तै बैठकले चालु आर्थिक वर्ष २०८१-८२ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत विभिन्न आयोजना र निकायका लागि कुल २६६ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।