राष्ट्रपतिले दिउँसो ३:३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

राष्ट्रपतिले दिउँसो ३:३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइ दिने भएका छन् ।

उनले यही असोज २६ गते शनिबार दिउँसो ३:३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विजया दशमीका उपलक्ष्यमा शनिवारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३:३० बजेसम्म अति विशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका जमरा लगाई दिने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३:३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका जमरा लगाई दिनेछन् । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृत स्तरका राष्ट्रसेवकलाई पनि टीका जमरा लगाइ दिने कार्यक्रम छ ।

राष्ट्रपतिले दाइका हातबाट टीका लाउने
राष्ट्रपति पौडेलले बडा दसैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु ढुण्डिराज पौडेलबाट लगाउने भएका छन् । राष्ट्रपति पौडेलले दाजुबाट यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्ने भएका हुन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नेछन् ।

राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दसैँको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नेछन् । सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका जमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।