पर्सा । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् ।
चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे गाडीको आयातमा कमी आएको भए पनि दुई पाङग्रे गाडीको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए । चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् ।
गएको आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए । आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल(मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए ।
चालू आर्थिक वर्षको यही अवधिमा ३४ करोड १७ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ ।
प्रतिक्रिया