राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्छ : माधव नेपाल

राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्छ : माधव नेपाल



काठमाडौं । शुक्रबार प्रतिपक्षी दलहरूको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्ने भएकाले चनाखो हुनुपर्ने बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा प्रतिपक्षी दहरूको बैठकमा अध्यक्ष नेपालले सो कुरा बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

साना दल विभाजन गर्ने गरी अध्यादेश ल्याउने भएकाले सतर्क हुनुपर्नेमा अध्यक्ष नेपालको जोड थियो । ‘संसदको विशेष अधिवेशन बोलाउन जोड दिनुपर्छ भन्ने उहाँको कुरा थियो,’ बैठकमा सहभागी ती नेताले भने ।

सरकारले अध्यादेश ल्याउन खोजे तत्काल विशेष अधिवेशन बोलाउन माग गर्ने प्रतिपक्षी दलहरूको रणनीति छ ।

पहिला पनि ओली सरकारले नै अध्यादेश ल्याएको भन्दै रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने, ‘यो पालि पनि सत्ता पक्षमै भएका साना दलहरु हुन् वा प्रतिपक्षमा भएका दल, हामी नयाँ मान्छे आएकाले के हो, यतातिर गएको गम्भीर आशंका भएर नै बसेका हौं ।’

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विपक्षी दलहरुको बेठक बोलाएका थिए । बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसमेत सहभागी थिए ।