रविलाई पक्राउ गर्न सिआइबीको टोली रास्वपा कार्यालयमा

रविलाई पक्राउ गर्न सिआइबीको टोली रास्वपा कार्यालयमा

पोखरामा आकस्मिक बैठक जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पार्टी कार्यालयमा पुगेको छ ।

प्रहरी स्रोतका अनुसार सिआइबीको टोली पक्राउ गर्न काठमाडौंको वनस्थलीतिस्थित पार्टी कार्यालयमा पुगेको हो ।

अहिले पक्राउ गर्न पुगेको टोलीसँगै सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको छ ।

स्रोतका अनुसार, लामिछानेलाई पक्राउ गरेर शुक्रबारै कास्की पठाउने तयारी छ । शुक्रबारमात्रै जिल्ला अदालत कास्कीबाट प्रहरीले लामिछानेविरूद्ध पक्राउ पुर्जी लिएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछाने दोषी रहेको भन्दै सहकारी ठगीबारे संसदीय छानबिन समितिले पनि उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

पोखरामा आकस्मिक बैठक जारी

सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै शुक्रबार साँझ गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त आकस्मिक बैठक पाेखरामा सुरु भएको छ ।

बैठकले राजनीतिक घटनाक्रमबारे निर्णय लिने र थप गतिविधि चलाइने बताइएकाे छ ।

रास्वपाले नेता कार्यकर्तालाई पोखरामा उतार्ने भनेर यसअघि नै अनौपचारिक निर्णय गरिसकेको छ ।

प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएपछि लामिछानेले सरकारको चर्को आलोचना गरेका छन् ।
‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ उनले भने, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी , मेरो हातमा चाहि हतकडी ?’