दुई पक्षीय प्रदर्शन मत्थर पार्न पोखरामा निषेधित क्षेत्र घोषणा

दुई पक्षीय प्रदर्शन मत्थर पार्न पोखरामा निषेधित क्षेत्र घोषणा



काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने पक्राउसँगै दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्की प्रशासनले पोखराका दुई स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

जसअनुसार पोखरास्थित सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधाज्ञा घोषित क्षेत्रमा ५ जनाभन्दा बढी भेला भएमा कानुन बमोजिम कारबाही हुने प्रशासनको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रदर्शनमा उत्रिएका दुवै पक्षलाई संयमित रहन अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गरेका समेत गरेका छन् ।

पोखरामा अहिले दुवै पक्षको प्रदर्शनलाई मध्यनजर राखेर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।