निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि पाेखरामा रास्वपा र प्रहरीबीच धकेलाधकेल

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि पाेखरामा रास्वपा र प्रहरीबीच धकेलाधकेल



पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।

निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हाे । तर अन्तिम समयमा मात्रै निषेधित क्षेत्र घोषणा गरिएको भन्दै रास्वपाका नेताहरूले प्रहरीसँग वादविवाद गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरिएका छन् । प्रहरीले भने निषेधित क्षेत्र खाली गराउने प्रयास गर्दा दुई पक्षबीच धकेलाधकेलको स्थिति छ ।

पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीको विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपनि रास्वपाले षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै सरकारको विरोध गर्दै आएको छ । लामिछानेलाई आजै अदालतमा पेस गरिँदै छ ।