भारतमा उत्पादन कम भएसँगै मेची भन्सार कार्यालयबाट चिया निर्यात बढ्याे

भारतमा उत्पादन कम भएसँगै मेची भन्सार कार्यालयबाट चिया निर्यात बढ्याे



झापा । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा ६ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।

यसैबीच कार्यालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालू आर्थिक वर्षको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।