खुर्कोटमा रहेको सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सकियो

खुर्कोटमा रहेको सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सकियो



रापेछाप । नेपाली सेनाले सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सकेको छ । गएको असोज १२ गतेको बाढीले पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज हालेको हो ।

बिहान बेलिब्रिजको काम सकेको र अब भारवहन क्षमता जाँच गरेर एक/दुई दिनभित्रै गाडी चलाउन खुल्ला गर्ने सेनाले जनाएको छ । पैदल यात्रुहरु भने पुलबाटै वारपार गर्न थालेका छन् । रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने केही काम बाँकी रहेको छ ।

त्यो काम पनि चाँडै सकिने सडक विभागले जनाएको छ । सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने सुनकोशी नदीको एक सय मिटर लामो पुलको रामेछापतर्फको ५१ मिटर असोज १२ गते बाढीले बगाएको हो ।

पुल बनेसँगै सिन्धुली र खुर्कोटको यातायात सेवा जोडिएको छ । रामेछापसहित सोलुखुम्बु र ओखलढुङ्गाको केही क्षेत्रका बासिन्दालाई काठमाडौं तथा तराईका जिल्लामा आवातजावात गर्न प्रयोग हुँदै आएको खुर्कोटको पुल बगाएपछि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।