पूर्वडीआईजी जोशीलाई बयानका लागि लगियो रुपन्देही

पूर्वडीआईजी जोशीलाई बयानका लागि लगियो रुपन्देही



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका पूर्वडीआईजी जोशीलाई सुप्रिम सहकारीको रकम अपचलनबारेको बयानका लागि सोमबार रुपन्देही लगिएको हो । बयानका लागि जोशीलाई पोखराबाट रुपन्देही पठाइएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार रुपन्देहीमा बयान सकिएपछि जोशीलाई पोखरा नै ल्याइने छ । सहकारी ठगीको आरोपमा गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी जोशी ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ परेका थिए ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप जोशीमाथि छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीको बयानका लागि रुपन्देही लगिएको हो ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।