पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट आएको छ । डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । देशभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगञ्ज रहेको छ ।
चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ६६ लाख ८० हजार रुपैयाँ बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाई–स्पिड डिजेल आयात भएको छ । भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा हाई–स्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको हो ।
डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाई–स्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै ल्याउने गरिन्छ ।
तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । असोज मसान्तसम्ममा ६ अर्ब ५८ करोड ४६ लाख ८३ हजार रुपैयाँ बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा २२ दशमलव ५२ प्रतिशतले घटेको हो ।
अमलेखगञ्जको नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो । त्यस्तै विद्युतीय गाडीमा आकर्षण बढ्न थालेपछि पेट्रोलियम पदार्थको खपत केही घटेको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले मनसुन सकिएको र मुख्य चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने बताए ।
प्रतिक्रिया