नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग खेल्ने



काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा घरेलु टोली नेपाल समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको छ ।

बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोलले पराजित गरेर समूह विजेता बन्यो ।

नेपालले समूहमा ७ अंक जोड्दा उपविजेता बनेको भुटानले पनि ७ अंक नै जोड्यो । गोलअन्तरमा भने नेपालले भुटानलाई एक गोलले पछि पार्‍यो ।

यसअघि नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गर्दा भुटानसँग गोलरहित खेलेको थियो ।

अब नेपालले आइतबार दोस्रो सेमिफाइनलमा भारतसँग खेल्नेछ । त्यसअघि भुटान र बंगलादेश पहिलो सेमिफाइनलमा भिड्ने छन् ।

बिहीबार समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरूद्ध पहिलो हाफमै चार गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्‍यो ।

नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १ गोल गरे ।

साफ महिला च्याम्पियनशिपको फाइनल खेल आउँदाे बुधवार हुनेछ ।