सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ : उपराष्ट्रपति ह्यारिस

सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ : उपराष्ट्रपति ह्यारिस



पेन्सिलभेनिया । अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेकी छन् ।

जर्जियामा चुनाव प्रचारका लागि प्रस्थान गर्नुअघि एक पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै ह्यारिसले लोकतान्त्रिक भविष्यका बारेमा चिन्ता व्यक्त गर्ने पुरुष र महिलाहरूलाई समान रूपमा हेरेको बताएकी छन् ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि र उपराष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउसमा पहिलो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

कमला ह्यारिसले अमेरिकी जनताले उनीहरूले सामना गर्ने चुनौतीको सामना गर्न सक्षम राष्ट्रपति चाहेको बताएकी छन् । उनले प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई जनताको मौलिक स्वतन्त्रता खोसेको आरोप लगाएकी छन् ।

त्यसैगरी, मतदानमा लैङ्गिक अन्तरको मुद्दामा सोधिएको प्रश्नको जवाफमा ह्यारिसले भनिन्, “म तपाईंसँग इमानदार हुनुपर्दछ, पुरुष र महिला दुबैले हाम्रो लोकतान्त्रिक भविष्यको बारेमा समान मात्रामा आफ्नो चिन्ता व्यक्त गरिरहेको मैले देखिरहेको छु, उनीहरू देशले सामना गर्ने चुनौतीको सामना गर्न सक्षम राष्ट्रपति चाहन्छन् । त्यसैले म वास्तवमा त्यस्तो असमानता देख्दिनँ, र म सबै अमेरिकीहरूले चाहेको राष्ट्रपति बन्न चाहन्छु ।”

उनले सीमा मुद्दाबारे कुरा गर्दै अमेरिकी सीमा सुरक्षाको सुनिश्चितता आफ्नो सर्वोच्च प्राथमिकताको विषय रहेको बताएकी छन् ।

कमला ह्यारिसले बिहीबार (स्थानीय समय) जर्जियामा पहिलो पटक पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामासँग चुनावी प्रचार गर्ने अपेक्षा गरिएको छ ।

अभियान अधिकारीहरूका अनुसार ह्यारिस शनिबार पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामासँग मिशिगनमा उपस्थित हुने तयारी गरिएको छ । पूर्व राष्ट्रपति बाराक ओबामा र मिशेल ओबामाले जुलाईमा ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रुपमा समर्थन गरेका थिए ।