भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा



काठमाडौं । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टी शुटआउटमा ४-२ गोलले हरायो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि सङ्गीता बस्फोरेले गोल गरिन् ।

खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म रोकिएको थियो । त्यसपछि रेफ्री, म्याच कमिस्नर लगायतले छलफल गरेपछि खेल शुरू भएको हो ।

यसअघि खेलको ५० औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउँदै बाहिरिएपछि पनि खेल केही बेर रोकिएको थियो ।

अब नेपालले उपाधिका लागि आउँदो बुधवार बङ्गलादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोलले हराउँदै साविक विजेता बङ्गलादेश फाइनलमा पुगेको हो ।