लगातार ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार

लगातार ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार



संखुवासभा । संखुवासभामा लगातार ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन अर्थात् ४० किलोको ९० हजार रुपैयाँ पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार रुपैयाँसम्म झरेको थियो ।

अलैँची व्यवसायी महासङ्घ संखुवासभाका अध्यक्ष कुमार श्रेष्ठले अहिले अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपैयाँ रहेको जानकारी दिए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य बढेकाे हो । उत्पादन कम र माग बढी भएका कारण अलैँचीको मूल्य बढेकाे अध्यक्ष श्रेष्ठले बताए ।

पछिल्लो समय भारत, पाकिस्तानलगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्यसमेत बढेको छ । जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सिजनको शुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरू गरेको व्यवसायी बताउँछन् । ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको छ ।

अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ वटा जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ ।