साफ महिला च्याम्पियनशिप : फाइनलको टिकट एन्फाले नै बेच्ने

साफ महिला च्याम्पियनशिप : फाइनलको टिकट एन्फाले नै बेच्ने

रंगशालाभित्र लैजान निषेध गरिएका वस्तुकाे सूची सार्वजनीक



काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) ले नै बिक्री गर्ने भएको छ ।

नेपाल र बंगलादेशबीच हुने फाइनलका लागि भोलि बिहान ८ बजेदेखि जावलाखेल फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकालीको नेपाली सेनाको गेटअघिबाट टिकट बिक्री गर्ने एन्फाले जनाएको छ ।

भीआईपी टिकट अनलाइनबाट किन्न पाइने छैन । सामान्य टिकटको मूल्य ५ सय रुपैयाँ छ भने भीआईपी टिकटको मूल्य १ हजार राखिएको छ । भीआईपी टिकट किन्न आफैँ उपस्थित हुनुपर्ने एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिए ।

एक जनाले भीआईपीतर्फ अधिकतम दुई वटा र साधारणतर्फ पाँच वटा टिकट मात्रै किन्न पाउने छन् । यसअघि अनलाइनमार्फत बिक्री भएको टिकटको पैसा फिर्ता हुने एन्फाले जनाएको छ । सुरक्षाका कारण जम्मा १० हजार वटा टिकट मात्रै बेच्ने एन्फाले जनाएको छ ।

यसअघि टिकट बिक्रीको जिम्मा लिएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले भारतसँगको खेलका क्रममा रङ्गशालाको क्षमताभन्दा धेरै टिकट बिक्री गरेको र सुरक्षा जोखिम बढेको भन्दै एन्फाले सम्झौता रद्द गरेको छ ।

माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनशिपको टिकेटिङ अधिकार लिएको थियो । १५ हजार जना दर्शक क्षमता भए पनि उसले १८ हजार वटा टिकट बेचेको थियो ।

साफ महिला च्याम्पियनशिपकाे फाइनल खेल बेलुका साढे ६ बजे त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा शुरू हुनेछ ।

रंगशालाभित्र लैजान निषेध गरिएका वस्तुकाे सूची सार्वजनीक

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको उपाधि भिडन्तमा जानुअघि दर्शकले केही नियम पालना गर्नुपर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

खेल भोलि साँझ ६ः३० बजे सुरु हुँनेछ । रंगशालामा प्रवेश गर्दा चुरोट, लाइटर, सलाइ, बोतलजस्ता वस्तु लैजान निषेध गरिएको छ । हेलमेट लिएर पनि रंगशाला प्रवेश गर्न दिइने छैन । ठूलो झोला बोकेर पनि नआउन साहले दर्शकलाई आग्रह गरे ।

प्रतिबन्धित सामग्री :
१. हातहतियार– बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार ।

२. धूम्रपान र आगो बाल्ने सामग्री– चुरोट, लाइटर, सलाई आदि ।

३.मादक पदार्थ– मदिरा र अन्य नसालु पदार्थहरू ।

४. झोला र ठूला ब्यागहरू– साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन् ।

५. हेल्मेट र सुरक्षात्मक उपकरणहरू– हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू ।

६. प्रचार सामग्री– अनुमतिबिना ब्यानर, झण्डा, पोस्टर आदि ।

७. प्रक्षेपण गर्न मिल्ने वस्तुहरू– पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्वाइन ।

८. लेजर लाइट– खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट, ड्रिंस र अन्य अवैध पदार्थ– कुनै पनि प्रकारका लागु औषधहरू

९. छाता– लिबिस्टिक, नेल कटर, कैँची, काइयो ।