काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारलाई प्रभावकारी बनाउन बेग्लै संयन्त्र बनाएका छन् ।
सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ८ सदस्यीय संयन्त्र बनाएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा सदस्य छन् । त्यसैगरी एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् ।
७ बुँदे सहमतिअनुसार सरकारलाई प्रभावकारी ढंगले चलाउन दुई दलका शीर्ष नेताहरु सम्मिलिन संयन्त्र बनाइएको हो । दुइ दलले प्रदेश र जिल्ला तहमा पनि ६ सदस्यीय संयन्त्र गठन गर्ने तयारी गरेकाे छ । उक्त निर्णय अनुसार एमालेबाट संयन्त्रमा रहने नेताहरु समेत टुंगिएको छ ।
प्रदेश तहको संयन्त्रमा पार्टी इन्चार्ज, अध्यक्ष र संसदीय दलको नेता सदस्य हुनेछन् । जिल्ला संयन्त्रमा इन्चार्ज, अध्यक्ष र सचिवलाई पठाउने मोडालिटी तयारी एमालेकाे छ । कांग्रेसले भने प्रदेश र जिल्ला तहको संयन्त्रका सदस्यहरुबारे निर्णय लिन बाँकी छ ।
प्रतिक्रिया