बागलुङको निरयघाटमा चौबीस वर्षपछि हरिबोधनी एकादशी मेला हुने

बागलुङको निरयघाटमा चौबीस वर्षपछि हरिबोधनी एकादशी मेला हुने



बागलुङ । बागलुङ निरयघाटको कालीगण्डकी किनारामा चौबीस वर्षपछि हरिबोधनी एकादशी मेला हुने भएको छ । मेलाका लागि आवश्यक तयारी थालिएको छ ।

हरिबोधनी एकादशी मेला संरक्षण समिति गठन गरेर काम थालिएको हो । रातभर जाग्राम बसेर भजनकृतन गर्ने र बिहान कालीगण्डकीमा स्नान गर्ने, तोरण तान्ने, पूजा गर्ने र किनमेल गर्ने हरिबोधनी एकादशी मेलालाई चौबीस वर्षपछि आयोजना गर्न संरक्षण समिति र विभिन्न उपसमितिसमेत गठन गरिएका छन् ।

समितिका अध्यक्ष रमेश राजभण्डारीले औपचारिक रूपमा चौबीस वर्षसम्म रोकिएको मेला यसवर्षबाट पुनः सञ्चालन गर्ने गरी तयारी शुरू भएको जानकारी दिए । आउँदो कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरिबोधनी एकादशी मेला लाग्नेछ ।

२०५७ सालमा जिल्ला प्रशासनले शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता निरयघाटमा मेला लाग्न सकेको थिएन ।

आउँदो २६ गते तोरणलाई बाग्लुङ बजारमा शोभायात्रासहित परिक्रमा गर्ने र २७ गते कालीगण्डकी नदी किनार निरयघाटमा तोरणसहित प्रस्थान गर्ने योजनाअनुसार काम भइरहेको छ ।