काठमाडौं । १९ वर्षमुनिको नेपाली क्रिकेट टोली भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको पहिलो अभ्यास खेलमा १ विकेटले पराजित भएको छ ।
नेपाली युवा टोलीले दिएको १ सय १४ रनको लक्ष्य कर्नाटकको टोलीले ३२ ओभरमा ९ विकेट गुमाउँदै भेटायो । कर्नाटकका रोहितले ३३ रन बनाए । नेपाली टोलीका कप्तान हेमन्त धामी र सन्तोष यादवले ३/३ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाली युवा टोली २७ ओभर २ बलमा १ सय १३ रनमा अलआउट भयो । नेपालका आकाश त्रिपाठीले सबैभन्दा धेरै २७ रन बनाए । कर्नाटकको टोलीका पुथिगेले ५ विकेट लिए ।
नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेल्न लागेको हो । शृङ्खलाको दोस्रो खेल पर्सि शुक्रवार हुनेछ । यस्तै तेस्रो खेल मङ्सिर २ गते, चौथो खेल मङ्सिर ४ गते र पाँचौं तथा अन्तिम खेल मङ्सिर ६ गते हुनेछ ।
यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ ।
प्रतिक्रिया