रुपन्देहीमा साढे २३ घण्टा बयान लिएर रवि लामिछानेलाई पोखरा फर्काइयो

रुपन्देहीमा साढे २३ घण्टा बयान लिएर रवि लामिछानेलाई पोखरा फर्काइयो



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पुन: पोखरा फर्काइएको छ ।

रुपन्देहीमा तीन दिनको बयान सकेर पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार दिउँसाे पोखरा फर्काइएको हो । उनीमाथि पोखरा र रुपन्देहीका सहकारीको रकम अपचलन गरेको आरोप छ ।

बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो ।

सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग ३ दिनमा साढे २३ घण्टा लगाएर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ ।

गत मंगलबार मध्यान्न कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा ७४ वटा सवालको जवाफ लिइएको बताइएकाे छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको अभियोगमा रुपन्देहीमा बयान लिइएको हो ।

सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

यसमध्ये सुप्रिमको करिब एक अर्ब ऋण प्रवाहमध्ये जीबी राई जोडिएका संस्था, कम्पनी र व्यक्तिको मात्रै ७० प्रतिशत बढी अर्थात् ७० करोड रुपैयाँ रकम नै हिनामिना भएको संसदीय प्रतिवेदनमा उल्लेख छ ।