दोस्रो खेलमा कर्नाटक माथि नेपाली युवा टोलीको सानदार जित

दोस्रो खेलमा कर्नाटक माथि नेपाली युवा टोलीको सानदार जित



काठमाडौं । एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीले भारतको कर्नाटक यू-१९ टोलीलाई दोस्रो खेलमा पराजित गरेको छ ।

शुक्रबार मुलपानीमा भएको खेलमा नेपाली टोलीले ७ विकेटको जित निकालेको हो । जितसँगै पाँच खेलको सिरिजमा एक/एकको बराबरी भएको छ ।

कर्नाटकले दिएको १२२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा २४.५ ओभरमा पूरा गर्‍यो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले अर्धशतक प्रहार गरे । आकाशले नटआउट ५२ रन जोड्ने क्रममा ७६ बलमा ६ चौका प्रहार गरे ।

अर्का ओपनर मयन यादव ३२ रनमा आउट भएका थिए । नरेन भट्ट १४ रन र सन्तोष यादव शून्यमा पेभिलियन फर्के । उत्तम मगरले नटआउट १२ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्नाटकलाई नेपालले ३८.१ ओभरमा १२१ रनमा अलआउट गर्‍यो ।

कर्नाटकका लागि ओपनर प्रथिकले ३७ रन र रिशव अपाचुले ४० रन बनाए । उसका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका कप्तान हेमन्त धामी र नरेन साउदले चार/चार विकेट लिन सफल भए । दयानन्द मण्डल र सन्तोष यादवले एक/एक विकेट लिए ।

यसअघि बुधबार मुलपानी मैदानमा भएको पहिलो खेलमा नेपाली टोलीमाथि कर्नाटकले एक विकेटको जित निकालेको थियो।

अब नेपाल र कर्नाटकबीच मंसिर २, मंसिर ४ र मंसिर ६ मा बाँकी खेल हुनेछन् ।