चीनपछि प्रधानमन्त्री ओलीको भारतको पनि भ्रमण हुन्छ : परराष्ट्रमन्त्री राणा

चीनपछि प्रधानमन्त्री ओलीको भारतको पनि भ्रमण हुन्छ : परराष्ट्रमन्त्री राणा



डडेल्धुरा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुई छिमेकी देश भारत र चीनसँग एकदमै राम्रो सम्बन्ध रहेको बताएकी छिन् ।

शुक्रबार डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । ‘दुई ठूला मित्र राष्ट्रसँग आज होइन परापूर्वकालदेखि नै एकदमै राम्रो सम्बन्ध छ,’ उनले भनिन्, ‘यो सम्बन्धलाई हामी मेन्टेन गरेरै अगाडि बढ्छौँ ।’

परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीनपछि भारतको पनि भ्रमण हुन सक्ने बताइन् । प्रधानमन्त्रीको चीनपछि भारत भ्रमण हुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘अवश्य पनि । दुवै मित्रराष्ट्रसँग हाम्रो राम्रो सम्बन्ध छ ।’ उनले चीन भ्रमणका लागि मन्त्रालयको टोलीले तयारी थालेको जानकारी दिइन् ।

‘भ्रमणको एजेण्डा चीन पक्षबाट आउँन बाँकी छ,’ उनले भनिन्, ‘हामीले भने तयारी थालेका छौँ । विगतमा भएका सम्झौताको अवस्थाबारे अध्ययन भइरहेको छ ।’

उनले सरकार सञ्चालनका लागि पछिल्लो समय संयन्त्र बनेपछि सहज भएको बताइन् । ‘दुई फरक दल सत्ता सहकार्यमा रहेकाले सम्वाद एकदमै आवश्यक थियो,’ उनले भनिन्, ‘त्यसैका लागि संयन्त्र बनाइएको छ । दुई पार्टीबीचको सहकार्यको आवश्यकतालाई जनतासमक्ष पुर्‍याउन र संयुक्त सरकारले गरेका काम तथा योजनाको पक्षमा जनमत निर्माण गर्न पनि यो आवश्यक थियो ।’

राणा उग्रतारा मेलामा सहभागी हुन शुक्रबार नै डडेल्धुरा पुग्ने कार्यक्रम छ । कांग्रेस सभापति शेरबहादुर देउवा भने २७ कात्तिकदेखि नै डडेल्धुरामा छन् ।