काठमाडौं । सरकारको नेतृत्व गरेको एमालेले आगामी मंसिर ७ गते शुक्रबार काठमाडौंमा एक लाख मास उतार्ने तयारी गरेको छ । जागरणसभा नाम दिइएको उक्त प्रदर्शनका लागि काठमाडौं उपत्यकाका ३ जिल्ला, ४ वटा विशेष जिल्ला कमिटी र २३ वटा जनसंगठनका कार्यकर्तालाई सहभागी हुन उर्दी जारी गरिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको गौरवशाली इतिहास, सक्षम नेतृत्व, क्रान्तिकारी विचारबारे बुझाउन जागरणसभा आयोजना गर्न लागिएको बताए । उनले केपी ओली नेतृत्वको सरकारले गरेका कामबारे समेत जानकारी गराउन जागरणसभा गरिएको उनको भनाइ छ ।
सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन पनि जागरणसभाको आवश्यकता भएको प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।
एमालेले आयोजना गर्न लागेको उक्त जागरणसभाको चौतर्फी आलोचना भइरहेको छ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी भन्छन्, ‘सडक प्रतिपक्षको हो, सत्ताको नेतृत्व गरेको पार्टी सडकमा आउनुको तात्पर्य बुझिदैन । डेमोक्रेटिक्स नम्समा सत्ता पक्ष सडकमा आउन मिल्दैन ।’ एमालेलाई किन जागरणसभाको आवश्यकता परेको होला भन्ने ग्लोब नेपालको जिज्ञासामा डा. केसीले भने, ‘यसमा ३ वटा कारण हुनसक्छ । पहिलो अहिले सडकमा देखिएको शक्ति माओवादी, रास्वपा र दुर्गा प्रसाईलगायतलाई डिमोरलाइज गर्न, दोस्रो सस्तो लोकप्रियता तथा तेस्रो शक्ति प्रदर्शन गर्नका लागि एमालेले जागरणसभाको आवश्यकता ठानेको हुनसक्छ ।
आफै सरकारमा बसेर आफै प्रदर्शन गर्नु एकदमै अराजकता हो, राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन् ‘सत्तामा बसेर पनि आन्दोलन हुन्छ ?’ सरकारले अराजकता नियन्त्रण गर्छ । राज्यको सस्थापक चरित्र नै भएन ।’ एमालेलाई जागरणसभा किन आवश्यकता प-यो भन्ने ग्लोब नेपालको जिज्ञासामा विश्लेषक खनाल भन्छन– ‘प्रदर्शन गर्नुका कारण अनेक होलान, तर जुन अराजकता आम नेपाली समाजमा देखिदैछ । त्यसको जननी, जनसस्थापक चाहिँ पार्टीहरु नै हुने, सरकार नै हुने भनेपछि यो त उल्टो यात्रा भयो । यो लोकतन्त्र विरोधी कुरा हो ।’
दोहोरो चरित्र प्रदर्शन गर्ने एमालेको पुरानो रोग हो । सत्ताको नेतृत्व गरेर सडकमा उत्रिनु भएको लोकतन्त्रको उपहास हो । थोरै नैतिकता भएको राजनीतिक दल हुन्थ्यो भने उसलाई लाजशरम लाग्नुपथ्र्यो । नैतिकता एमालेमा देखिएन, अर्को सञ्चारकर्मी तथा विश्लेषक सुवास साहले भने, ‘सत्तामा बसेर कानुन कार्यान्वयन गर्न नसक्ने र प्रतिपक्षको व्यवहार देखाउनु देशकै दुर्भाग्य हो ।’
जागरणसभा नाम दिए पनि यो एमालेको शक्ति प्रदर्शन हो भन्ने कुरा बुझ्न कठिन छैन । गठबन्धन सरकारभन्दा पनि प्रधानमन्त्री केन्द्रित विरोध प्रदर्शनलाई कमजोर पार्न एमालेले जागरणसभा गरेको हो । सर्वसाधारणलाई पीडा हुने काम सरकारको नेतृत्व गरेको राजनीतिक दलले गर्न मिल्छ कि मिल्दैन भन्ने हेक्का राख्ने पात्र एमालेमा देखिएन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी इच्छामा जागरणसभा हुन लागेकाे हाे ।
प्रतिक्रिया