भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पूर्वमेयरले उजुरी हाल्नेलाई कुटपिट गरे

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पूर्वमेयरले उजुरी हाल्नेलाई कुटपिट गरे


ग्लोब नेपाल
54
Shares

सिरहा । अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानले एक व्यक्तिलाई कुटपिट गरेका छन् । पूर्वमेयर पासवानले कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ४४ वर्षीय ओमप्रकाश महतोलाई कुटपिट गरेका हुन् ।

कर्जन्हा बजारस्थित चिया पसलमा बिहीबार बेलुकी बसिरहेकै अवस्थामा आफूमाथि पासवानले आक्रमण गरेको आरोप महतोको छ । पासवानले बाँसको फट्ठाले हानेको र यसले आफ्नो घाँटी तथा दाहिने हातमा चोट लागेको उनले बताए ।

आफूले उपचार गराएर प्रहरीमा जानकारी गराएको र आइतबार जाहेरी लिएर जाने तयारी रहेको महतोले बताए । महतोका अनुसार, पासवान मेयर छँदा उनीलगायतका व्यक्तिहरु विभिन्न योजनाहरुमा भएका भ्रष्टाचारका विषयमा अख्तियार तथा अदालतमा उजुरी हाल्ने गरेका थिए ।

नगरपालिकाको केन्द्रको विषय अदालतमा विचाराधीन रहेकै अवस्थामा २०७८ माघमा प्रशासकीय भवन निर्माणमा कामै नगरी १ करोड ८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै परेको मुद्दामा विशेष अदालतले पासवानसहित पाँच जनालाई दोषी ठहर गरेको थियो ।