मन्थली-काठमाडौं उडान सेवा बन्द, यात्रु अलपत्र

मन्थली-काठमाडौं उडान सेवा बन्द, यात्रु अलपत्र


ग्लोब नेपाल
81
Shares

रामेछाप । दुई महिना अगाडिबाट रामेछापको मन्थलीमा उडान शुरु गरेका बिमान कम्पनीहरुले मन्थली-काठमाण्डौं उडान सेवा बन्द गरेका छन् । मन्थलीबाट काठमाण्डौं र काठमाण्डौंबाट मन्थलीका लागि उडान तालिका नभएको भन्दै बिमान कम्पनीहरुले उडान बन्द गरेका हुन् ।

गत असोज १२ गतेको भिषण बाढीका कारण बिपी राजमार्ग बगाएपछि यातयात सम्पर्क टुटेको रामेछाप जिल्लामा असोजको तेश्रो सातादेखी निजी बिमान कम्पनीहरुले दैनिक एक उडान गर्दै आएका थिए ।

तारा एयर, समिट एयर र सिता एयरले उडान गर्दै आएको मन्थली बिमानस्थलमा बिगत दुइसाता देखी काठमाण्डौंका लागि उडान सेवा बन्द भएको छ । बिना सुचना बिमान कम्पनीहरुले उडान बन्द गरेपछि जहाजको टिकट लिएका यात्रुहरु समेत अलपत्र परेका थिए ।

जलश्रोत, उर्जा तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ्गसहित जिल्लाबासीहरुको तीब्र दबाब पछि उडान शुरु गरेका बिमान कम्पनीहरुले अहिले उडान सेवा बन्द गरेपछि सर्वसाधारणहरु मारमा परेका छन् ।

बिमान कम्पनीहरुले उडान सेवा बन्द भएको घोषणा नगरेको भएपनि अहिले उडान तालिका नभएको भन्दै मन्थलीबाट काठमाण्डौं र काठमाण्डौंबाट मन्थलीका लागि उडान सेवा बन्द गरेका छन् । तर तिनै एयसलाइन्सहरुले मन्थलीबाट लुक्लाका लागि भने दैनिक ४० भन्दा बढी उडानहरु गर्दै आएका छन् ।